काठमाडौं । साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन बढेको नेप्से, यस दिन करेक्सन भएको हो।
यस दिन कारोबार अवधिमा नेप्से परिसूचक २८०५.५७ विन्दुसम्म पुगेको थियो। यद्यपि, सो विन्दुभन्दा माथि नेप्से धेरैबेर रहन सकेन। यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.२९ अंकले घटेर २ हजार ७ सय ५५ दशमवल ६२ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३ सय ३२ स्क्रिपको २१ अर्ब ७१ करोड रुपैयाँ बराबरको ५ करोड १३ लाख कित्ता शेयर किनबेच भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि सामान्य घटेको छ । बुधबार २१ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
विहीबार ७४ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ६४ कम्पनीको शेयर मुल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.६९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक २.७४ प्रतिशत बढेको छ भने वित्त, म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.५४ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै हिमालयन रि– इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५९ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडिसी कम्पनीको ४२ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
विहीबार ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, नेपाल हाइड्रो डेभलपर, शुभम पावर, सिटि होटल, कुथेली बुखरी हाइड्रोपावर रहेका छन् । त्यस्तै, यस दिन प्रोग्रेशिभ फाइनान्स, नेपाल फाइनान्स, सानिमा माई हाइड्रोपावरलगायतका स्टकहरुमो मूल्य करिब १० प्रतिशत बढेको छ।



