काठमाडौं । मंगलबार शेयर बजार बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.५५ अंकले बढेर २ हजार ६ सय ९६ दशमलव ६५ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३ सय ३९ स्क्रिपको १७ अर्ब २६ करोड रुपैयाँ बराबरको ४ करोड ३ लाख कित्ता शेयर किनबेच भएको छ ।नेप्से बढेपनि अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन साढे १९ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।
मंगलबार १ सय ८९ कम्पनीको शेयर मुल्य बढेको छ । ४७ कम्पनीको शेयर मुल्य घटेको छ भने ६ कम्पनीको शेयर मूल्य स्थिर छ ।
यस दिनको बजारमा होटल तथा पर्यटन र फाइनान्स उपसमूहमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ। १३ उपसमूहमध्ये यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.९९ प्रतिशत बढेको छ भने फाइनान्स उपसमूहको परिसूचक ५.९८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ०.७६ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६० करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३७ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको ३६ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा प्रोग्रेशिभ फाइनान्स, बरुण हाइड्रोपावर, साञ्जेन जलविद्युत र नेपाल वेयरहाउजिङ कम्पनी रहेका छन् ।



