काठमाडौं । । मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । कारोबार खुलेको पहिलो १ मिनेटमै ४ प्रतिशतले बढेर २० मिनेट बन्द भएको नेप्से पुनः ५.०२ प्रतिशतले बढेर ४० मिनेटका लागि कारोबार बन्द भएको हो ।
मौद्रिक नीतिपछि नेप्सेमा सकारात्मक प्रभाव देखिएको छ। दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १२९ अंक बढेर २ हजार ६ सय ९७ विन्दुमा कायम भएको छ । दोस्रो सर्किट लाग्दासम्म नेप्सेमा २ सय ४४ कम्पनीका १३ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार ५२ करोड ४९ लाख बढीको कारोबार भएको छ ।
‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्था अनुसार कारोबार शुरू भएको पहिलो घण्टामा नेप्से परिसूचक चार प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै, दोस्रो घण्टामा पाँच प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घन्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन हुने व्यवस्था छ ।
साेही व्यवस्था अनुसार नेप्से दोस्रो पटक सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।



