images
images

५४ अंकले बढ्यो नेप्से, कारोबार रकम ३५ महिना यताकै उच्च


  • 397
    SHARES
  • २०८१ श्रावण २ गते बुधबार

    ५४ अंकले बढ्यो नेप्से, कारोबार रकम ३५ महिना यताकै उच्च

    काठमाडौं । बुधबार शेयर बजार बढेर बन्द भएको छ । अघिल्लो सोमबार सामान्य करेक्सनपछि बढ्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.०४ अंकले बढेर २ हजार ३ सय ६४ दशमलव ६३ विन्दुमा पुगेको छ । 

    बुधबार कारोबारमा आएका ३ सय ६ स्क्रिपको १२ अर्ब ५ करोड रुपैयाँ बराबरको ३ करोड २० लाख कित्ता शेयर किनबेच भएको छ ।  

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ९ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । यस दिनको कारोबार रकम करिब ३५ महिनायताकै उच्च हो। यस अघि २०७८ भदौ १५ गते १३ अर्ब १६ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो। सोपश्चात आजै नेप्सेमा १२ अर्बबढीको शेयर कारोबार भएको हो।

    बुधबार २ सय ४ कम्पनीको शेयर मूल्य बढेको छ । ३२ कम्पनीको शेयर मुल्य घटेको छ भने ६ कम्पनीको शेयर मुल्य स्थिर छ । 

    यस दिन पनि १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ७.३० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे ५ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

    आज सबैभन्दा धेरै सिंगटी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको २२ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्स एण्ड आयल को २० करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा सेन्ट्रल फाइनान्स रहेको छ । त्यस्तै, सिंगटी हाइड्रोपावरको शेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ भने आँखुखोला जलविद्युतको शेयर मूल्य ९.९५ प्रतिशतले बढेको छ । यसैगरि, मन्दकिनी हाइड्रोको शेयर मुल्य ९.९० प्रतिशतले बढेको छ । 


    images
    images

    Logo