काठमाडौं । मंगलबार शेयर बजार बढेर बन्द भएको छ । यस दिनको वृद्धिसँगै नेप्से परिसूचक २६ महिनायताकै उच्च विन्दुमा पुगेको छ।यस अघि २०७९ बैशाख २९ गते, नेप्से २३५०.४२ विन्दुमा बन्द भएको थियो। सोपश्चात नेप्सेले २३०० विन्दु नाघेको थिएन।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७०.१८ अंकले बढेर २ हजार ३ सय १० दशमलव ५९ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १५ स्क्रिपको ९ अर्ब १३ करोड रुपैयाँ बरारबको २ करोड ५८ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ८ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । मंगलबार कारोबारमा आएका २ सय ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मुल्य घटेको छ ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.४५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ४.९४ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ।
मंगलबार सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १८ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको १७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ५ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, आखुँखोला जलविद्युत आयोजना र मन्दाकिनी हाइड्रोपावर रहेका छन् । त्यस्तै, सिक्लेस हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन सिंगटी हाइड्रो इनर्जी, रिडी पावर र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ।



