काठमाडौं । साताको पहिलो दिन शेयर बजार बढेर बन्द भएको छ । गत साताको मंगलबार देखि बढेको नेप्सेले आज पनि निरन्तरता दिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५२.९७ अंकले बढेर २ हजार २ सय ५७ दशमलव ५९ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ९ स्क्रिपको ७ अर्ब ६२ करोड रुपैयाँ बराबरको २ करोड २० लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । विहीबार ७ अर्ब ८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज कारोबारमा आएका सवै उपसुचकहरु बढेको छ । जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक ३.७४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक पनि ३ प्रतिशतभन्दा बढी बढेको छ भने जीवन बीमा, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन विकास बैंक, वित्त, होटल, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आज कारोबारमा आएका २ सय १ कम्पनीको शेयर मल्य बढेको छ । ३६ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीका शेयर मूल्य स्थिर छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २१ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको २० करोड ७५ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ ।
आइतबार कारोबारमा आएका २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा रिडी पावर कम्पनी र माण्डु हाइड्रोपावर रहेका छन् । त्यस्तै, जानकी फाइनान्सको शेयर मूल्य ९.९५ प्रतिशतले बढेको छ भने हिमाल दोलखा हाइड्रोपावरको शेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ ।



