काठमाडौं । शेयर बजार २२ सय विन्दुमा उक्लिएको छ । यस अघि २०८० साउन ८ गते, नेप्से २२००.५० विन्दुमा बन्द भएको थियो।
साताको अन्तिम दिन अथात् विहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.२१ अंकले बढेर २ हजार २ सय ४ दशमलव ६१ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ३१ स्क्रिपको ७ अर्ब ८ करोड रुपैयाँ बराबरको २ करोड २ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । यस दिनको कारोबार रकम ६ महिना यताकै उच्च हो। यस अघि गत पुस २६ गते नेप्सेमा ७ अर्बभन्दा बढीको कारोबार भएको थियो।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.०६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक करिब साढे २ प्रतिशत बढेको छ भने जलविद्युत, म्युचुुअल फण्ड, निर्जीवनबीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
विहीबार कारोबारमा आएका १ सय ५४ कम्पनीको शेयर मुल्य बढेको छ । ७८ कम्पनीको शेयर मूल्य घटेको छ भने १२ कम्पनीको शेयर मुल्य स्थिर छ ।
आज सबैभनदा धेरै सिइडिबी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १४ करोड ८८ लाख रुपैयाँ संस्थापक शेयर कारोबार भएको छ । हिमालयन रि–इन्स्योरेन्सको १२ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
विहीबार बलेफी हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन सिटिजन्स युपर ३० म्युचुअल फण्ड र एनआईबिएल स्टेबल फण्डको इकाईमूल्य करिब १० प्रतिशत बढेको छ।



