काठमाडौं । मंगलबार शेयर बजार बढेर बन्द भएको छ । गत साताको दोस्रो कारोबार दिनदेखि बढीरहेको नेप्सेमा हिजो अर्थात सोमबार सामान्य अंकको करेक्सन देखिएको थियो। सो करेक्सनपश्चात यस दिन पुनः नेप्से बढेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७९ अंकले बढेर २ हजार १ सय ५२ दशमलव १४ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १६ स्क्रिपको ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक साढे २ प्रतिशत बढेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक घटेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन स्थिर रहेको छ।
आज कारोबारमा आएका १ सय ६८ कम्पनीको शेयर मुल्य बढेको छ । ६८ कम्पनीको शेयर मुल्य घटेको छ भने १० कम्पनीको शेयर मूल्य स्थिर छ ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १६ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १३ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा गणपति लघुवित्त वित्तीय संस्था र आत्मानिर्भर लघुवित्त रहेका छन् । त्यस्तै, बुद्ध भुमी नेपाल हाइड्रोपावरको शेयर मूल्य ९.९१ प्रतिशतले बढेको छ भने युनिक नेपाल लघुवित्तको शेयर मुल्य ९.७९ प्रतिशतले बढेको छ । त्यस्तै, सवैको लघुवित्तको ९.१५ प्रतिशतले शेयर मूल्य बढेको छ ।



