काठमाडौं । यो साता सेयर बजारको परिसूचक नेप्से ६७.७८ अंक बढेर २ हजार १ सय १९ दशमलव ७० विन्दुमा पुगेको छ। यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेको थियो। यस साताको पहिलो कारोबार दिन नेप्से घटेर बन्द भएको थियो।
गत साता ३२ खर्ब ५३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ८ अर्ब रुपैयाँ बढेर ३३ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ। नेप्से परिसूचक र कारोबार रकम दुवै बढेपछि नेप्सेको पूँजीकरण समेत बढेको छ ।
१३ उपसमूहमध्ये यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.८१ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता विकास बैंक उपसमूहको परिसूचक करिब ९ प्रतिशत बढेको छ भने वित्त उपसमूहको परिसूचक ७ प्रतिशतभन्दा बढी बढेको छ।
साताको पहिलो दिन आइतबार नेप्से १४.८३ अंकले घटेर २ हजार ३७ दशमलव ९ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो दिन सोमबार नेप्से १६.२९ अंकले बढेर २ हजार ५३ दशमलव ३८ विन्दुमा पुगेको थियो । सो दिन २ अर्ब ९२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार ४७.०४ अंकले बढेर २ हजार १ सय दशमलव ४३ विन्दुमा पुगेको छ । सो दिन ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो भने बुधबार ३.७९ अंकले बढेर २ हजार १ सय ४ दशमलव २२ विन्दुमा पुगेको थियो । सो दिन ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
त्यस्तै, साताको अन्तिम दिन विहीबार १५.४७ अंकले बढेर २ हजार १ सय १९ दशमलव ७० विन्दुमा पुगेको छ । सो दिन ६ अर्ब ३० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
यस साता दुई कम्पनीको ४७ लाख ८७ हजार ५ सय ६६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता सूर्यज्योति लाइफ इन्स्योरेन्स र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।
यस साता नयाँ सरकार गठन हुने समाचारले शेयर बजार प्रभावित भएको हो। नेकपा एमालेले अर्थसहित ९ र नेपाली कांग्रेसले गृहसहित १० मन्त्रालय लिने र पहिलो चरणमा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने प्रारम्भिक सहमति भएसँगै यस साताको शेयरबजारले सकारात्मक गति लिएको हो।



