काठमाडौं । मंगलबार शेयर बजार घटेर बन्द भएको छ । गत साता अन्तिम दिन बिहीबारदेखि घट्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.७६ अंकले घटेर २ हजार ७६ दशमलव ४९ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १८ स्क्रिपको ४ अर्ब ५ करोड रुपैयाँ बराबरको ९५ लाख ४४ हजार कित्ता शेयर किनबेच भएको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ५ अर्ब ४७ करोडको शेयर किनबेच भएको थियो । मंगलबार कारोबारमा आएका मध्ये ४० कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ९८ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने अन्य उपसमूहको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।
आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ११ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोको ११ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १० करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा समाज लघुवित्त रहेका छन् । माण्डु हाइड्रोपावरको शेयर मूल्य ७.८३ प्रतिशतले बढेको छ भने विन नेपाल लघुवित्तको शेयर मुुल्य ६.२० प्रतिशतले बढेको छ ।



