images
images

९ लाख ६० हजार कित्ता आईपीओ जारी गर्दै श्री डिष्टिलरी


  • 459
    SHARES
  • २०८१ जेठ ३१ गते बिहीबार

    ९ लाख ६० हजार कित्ता आईपीओ जारी गर्दै श्री डिष्टिलरी

    काठमाडौं । श्री डिष्टिलरीले प्राथमिक सेयर निश्कासन (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले ९ लाख ६० हजार कित्ता बराबरको आइपीओ जारी गर्न लागेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो । 

    कम्पनीको कूल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आइपीओका लागि छुट्याएको बताएको छ। आइपीओ निष्कासनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। उक्त सम्झौतामा श्री डिष्टिलरीका तर्फबाट सञ्चालक सनत न्यौपाने र प्रभु क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरे। 

    हस्ताक्षरपछि श्री डिष्टिलरीका सञ्चालक सनत न्यौपानेले लामो समयदेखि मदिरा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले अब जनतालाई पनि साझेदारी बनाएर अघि बढ्न लागेको बताए। त्यस्तै प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले आइपीओ निष्कासनमा श्री डिष्टिलरीले गरेको विश्वासमा धन्यवाद व्यक्त गरे। 

    सम्झौतासँगै कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेस गर्ने र प्रक्रिया पूरा गरी चाँडै नै आइपीओ जारी गर्ने बताएको छ। 

    श्री डिष्टिलरी नेपालको सबैभन्दा पुरानो र प्रतिष्ठित रक्सी उत्पादकमध्ये एक हो। सन् १९८५ मा स्थापना भइको श्री डिष्टिलरी एक उच्च गुणस्तरको मादक पेयका लागि प्रख्यात रहेको छ। 

    यस कम्पनीको सुरुवाती मुख्य ब्रान्डहरूमा किंग्स प्राइड ह्वीस्की, माउन्ट एभरेस्ट ह्वीस्की, बन्ड ब्ल्याक लेबल, ओएसिस एक्स्ट्रा ड्राय, श्री स्पेशल नम्बर वान, दुधिया स्पेशल, बुलेट, श्री दुधिया, सगुनलगायत रहेका थिए। यी ब्रान्डहरूले मदिरा बजारमा गुणस्तर र उत्कृष्टताका लागि श्री डिष्टिलरीको प्रतिष्ठा निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेका छन्। 

    कम्पनीका हालका ब्रान्डहरूमा प्रियसी सोफी, प्रियसी दुधिया, सगुन एप्पल, सगुन ग्रिन एप्पल, सगुन एक्स्ट्रा, जोश, स्पेशल नम्बर वान रहेका छन्। त्यस्तै कम्पनीले चाँडै नै ओएसिस, अल्फा ब्लु र बोन्ड ब्ल्याक लेबल गरी तीन नयाँ ब्रान्डलाई बजारमा ल्याउने तयारी गरेको छ। यस कम्पनीको स्प्रीट लाइसेन्स रहेको र आइपीओ निष्कासनपश्चात् कम्पनीले उच्च गुणस्तरको स्प्रीट उत्पादनमा पनि काम गर्ने जनाएको छ। 


    images
    images

    Logo