काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार सामान्य अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
साताको अन्तिम दिन विहीबार १.९३ अंकले घटेर २ हजार ७७ दशमलव ७८ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २२ स्क्रिपको ४ अर्ब ३८ करोड रुपैयाँ बराबरको ८८ लाख १३ हजार कित्ता शेयर किनबेच भएको छ ।
विहीबार १ सय १ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ३५ कम्पनीको शेयर मुल्य घटेको छ भने ११ कम्पनीको शेयर मुल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लघुवित्त र जलविद्युत उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.०८ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै एनआरएनको १८ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावरको १४ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको १४ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा इमर्जिङ्ग नेपाल र मिड सोलु हाइड्रोपावर रहेका छन् । त्यस्तै, यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने माण्डु हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ।



