काठमाडौं । बजेट पछिको पहिलो कारोबार दिन शेयर बजार घटेर बन्द भएको छ । मंगलबार प्रस्तुत भएको बजेटले लगानीकर्ताहरुको माग सम्बोधन नगर्दा यस दिन शेयर बजार घटेको हो ।
लगानीकर्ताहरु आगामी आर्थिक वर्षको बजेटमा कर सम्बन्धि नयाँ व्यवस्था गर्ने अपेक्षा गरेका थिए। सोही अपेक्षामा बजेट अघिका केही दिन शेयर बजार बढेको थियो। तर, हिजो प्रस्तुत भएको बजेटमा कर सम्बन्धि कुनै हेरफेर नभएपछि लगानीकर्ताहरु निराश बनेका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.८१ अंकले घटेर २ हजार ८९ दशमलव ४२ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १४ स्क्रिपको ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता शेयर किनबेच भएको छ ।
बुधबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । सोमबार ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज कारोबारमा आएका ५६ कम्पनीको शेयर मुल्य बढेको छ । १ सय ९१ कम्पनीको शेयर मूल्य घटेको छ ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ। बढेका उपसमूहमध्ये यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१३ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २.९४ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै पोखरा फाइनान्सको शेयर कारोबार भएको छ । यस कम्पनीको १९ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावरको १९ कोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको १४ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधबार ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा युनिलिभिर नेपाल कालिञ्चोक दर्शन, अपर लोहरे खोला र भगवती हाइड्रोपावर रहेको छ । त्यस्तै, यस दिन पोखरा फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।



