काठमाडौं । गत आर्थिक वर्षको तुलनामा यसपटक घरजग्गाको कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको पहिलो १० महिनाको तुलनामा यसपटक कारोबार १८.१९ प्रतिशतले बढेको हो । कारोबारमा सुधार आएपनि राजस्व संकलन भने घटेको छ ।
गत आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल ३ लाख ६३ हजार ७६८ लिखत पारित भएको विभागको तथ्यांक छ । चालु आर्थिक वर्षको सोही अवधिमा ४ लाख २९ हजार ९५७ लिखत पारित भएका छन् । जुन गत आर्थिक वर्षको तुलनामा १८.१९ प्रतिशतले बढी हो ।

लिखत पारितको संख्यामा वृद्धि भएतापनि जग्गा कारोबारवापत संकलन हुने राजस्वमा भने घटेको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको वैशाख मसान्तसम्ममा घरजग्गा कारोबारवापत ३३ अर्ब १२ करोड ७१ लाख रुपैयाँबराबर रकम राजस्व संकलन भएको थियो । सो शिर्षकको राजस्वमा यसपटक करिब ५ करोड रुपैयाँले घटेर ३३ अर्ब ७ करोड ७२ लाख रुपैयाँमा सिमित भएको छ ।



