काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार बढेर बन्द भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.६९ अंक बढेर २ हजार ६४ दशमलव ४५ विन्दुमा पुगेको छ।
आज कारोबारमा आएका ३ सय २३ स्क्रिपको ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बरारबको १ करोड २२ लाख ४० हजार कित्ता शेयर किनबेच भएको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
यस दिन सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन फस्ट माइक्रोफाइनान्सको साढे ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सको कारोबार रकम ११ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज ४ कम्पनीकको शेयर सकारात्मक सर्किट लागेको छ। यसरी सर्किट लाग्नेमा आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्त रहेका छन् । त्यस्तै, यस दिन हिमालयन लघुवित्तको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले एक वर्ष अवधि व्यतित भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था गरेसँगै त्यसको सकारात्मक प्रभावत यस दिनको बजारमा परेको देखिन्छ। यस अघि सो अवधिका लगानीमध्ये प्राथमिक पूँजीको १ प्रतिशत मात्र बिक्री गर्न पाउने व्यवस्था थियो।



