काठमाडौं । मंगलबार शेयर बजार बढेर बन्द भएको छ । पछिल्ला ३ कारोबार दिनदेखि घटिरहेको नेप्से ,यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०६ अंकले बढेर १ हजार ९ सय ६० दशमलव ८१ विन्दुमा पुगेको छ । आज कारोबारमा आएको ३ सय १४ स्क्रिपको २ अर्ब १४ करोड रुपैयाँ बराबरको ५० लाख ६४ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । सोमबार २ अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
मंगलबार १ सय २० कम्पनीको शेयर मूल्य बढेको छ । १ सय १४ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयर मूल्य स्थिर छ ।
अधिकांश लघुवित्त कम्पनीहरुको शेयरमूल्य बढेसँगै लघुवित्त उपसमूहको परिसूचक यस दिन अरु उपसमूहको तुलनामा उच्च दरमा बढेको छ। सो उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४३ प्रतिशत बढेको छ। विकास बैंक, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य बढेको छ। कारोबारमा आएका वित्त र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।
आज सबैभन्दा धेरै पोखरा फाइनान्सको शेयर कारोबार भएको छ । आज ८ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आरएसडिसी लघुवित्तको ६ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लघुवित्त वित्तीय संस्थाको ५ करोड १७ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।
आज हिमालयन लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । इन्फिनिटी लघुवित्तको शेयर मूल्य ८.४७ प्रतिशतले बढेको छ भने समता घरेलु लघुवित्तको शेयर मूल्य ७.४ प्रतिशतले बढेको छ ।



