काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सोबेन) ले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको छ । बोर्डको आइतबार बसेको सञ्चालक समितिको बैठकले जेठ १ गतेदेखि लागु हुने गरि ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको हो ।
हाल कारोबार रकमको अधिकतम ०.४० प्रतिशतसम्म ब्रोकर कमिसन दर तोकिएको छ । एक पटकमा हुने ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत ब्रोकर कमिसन लाग्छ ।
अब यसलाई ०.३६ प्रतिशतमा झारिनेछ । यस्तै ०.२७ प्रतिशत रहेको तल्लो सीमालाई घटाएर ०.२४३ प्रतिशत कायम गरिने भएको छ । कारोबार रकमका आधारमा ब्रोकर कमिसन लाग्ने गरेको छ ।
५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोडसम्मको कारोबारमा ०.३० र १ करोडमाथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ । यी सबै दरमा १० प्रतिशत घट्नेछ ।



