काठमाडौं । नयाँ बर्ष २०८१ लागेपछि पहिलो पटक शेयर बजारमा सुधार आएको छ । बर्षको पहिलो साताको सवै कारोबारका दिन घटेको नेप्से दोस्रो साताको पहिलो दिन मात्र बढेको हो ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.२९ अंकले बढेर १ हजार ९ सय ८४ दशमलव ४३ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १० स्क्रिपको २ अर्ब २५ करोड रुपैयाँ बराबरको ६३ लाख ९३ हजार कित्ता शेयर किनबेच भएको छ ।
आइतबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । गत साताको विहीबार २ अर्ब ९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.९० प्र्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ।
आज १ सय ७६ कम्पनीको शेयर मुल्य बढेको छ । ६३ कम्पनीको शेयर मुल्य घटेको छ भने ६ कम्पनीको शेयर मुल्य स्थिर छ ।
आज सबैभन्दा धेरै गोर्खाज फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो १० करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको ७ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स पावर कम्पनकिो ७ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज दोल्ती पावर कम्पनीको शेयर मुल्य ९.८८ प्रतिशतले बढेको छ । एनआईसी एशिया लघुवित्तको शेयर मुल्य ८.४७ प्रतिशतले बढेको छ भने रुरु जलविद्युतको शेयर मूल्य ८.१८ प्रंतिशतले बढेको छ ।



