काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से बढेर बन्द भएको छ । पछिल्ला ५ कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.७५ अंकले बढेर २ हजार २६ दशमलव ८१ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ११ स्क्रिपको ४ अर्ब २५ करोड रुपैयाँ बराबरको १ करोड १२ लाख कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । विहीबार ३ अर्ब ३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आइतबार १ सय ९० कम्पनीको शेयर मूल्य बढेको छ । ४८ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.९५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो।
आज सबैभन्दा धेरै नेपाल रि–इन्स्योरेन्सको संस्थापक शेयर किनबेच भएको छ । आज यस कम्पनीको ९५ करोड २० लाख रुपैयाँ संस्थापक शेयर किनबेच भएको छ । गोर्खाज फाइनान्सको १९ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सूर्यज्योति लाइफको ११ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वोत्तम सिमेन्टको ९ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन ५ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ । यस दिन नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स, गुराँस लघुवित्त वित्तीय संस्था र मानुषि लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लागेको हो ।



