काठमाडौं । शेयर बजारको गिरावटले आज बुधबार पनि निरन्तरता पाएको छ। आइतबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.४३ अंकले घटेर २ हजार ६ दशमलव ७८ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २२ स्क्रिपको २ अर्ब ५३ करोड रुपैयाँ बराबरको ६४ लाख ८१ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । मंगलबार २ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
बुधबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये पनि लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.६५ प्रतिशत बढेको छ। यस दिन जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक १.७४ प्रतिशत घटेको छ। अरु उपसमूहको गिरावट दर भने सामान्य रहेको छ।
बुधबार कारोबारमा आएका १ सय ३ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ३२ कम्पनीको शेयरमुल्य घटेको छ । १० कम्पनीको शेयरमुल्य स्थिर छ ।
आज सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २५ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सर्वोत्तमको १२ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्स कम्पनीको ११ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा गुँरास लघुवित्त रहेको छ । विन नेपाल लघुवित्तको शेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ भने मानुषि लघुवित्तको शेयर मूल्य ९.९१ प्रतिशतले बढेको छ । गणपति लघुवित्तको शेयर मूल्य ८ प्रतिशतले बढेको छ ।



