काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १६ अर्ब रुपैयाँ बराबरको विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको आयात निर्यातको विवरण अनुसार आर्थिक वर्ष २०८०/८१ को फागुनसम्ममा १५ अर्ब ९४ करोड १७ लाख ३५ हजार रुपैयाँमा ६ हजार ४९७ वटा ईभी आयात भएको हो । यो अवधिमा सरकारले आयातित विद्युतीय सवारीसाधनबाट ६ अर्ब ९९ करोड २६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
विभागअनुसार फागुनसम्म नेपालमा ५० किलोवाट क्षमताको २ हजार ७४६ वटा विद्युतीय गाडी भित्रिएका छन् । यसका लागि ५ अर्ब १० करोड ४६ लाख रुपैयाँ बाहिरिएको छ भने सरकारले १ अर्ब ५२ करोड १९ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
यसैगरी यो ८ महिनामा नेपालमा ५१ किलोवाटदेखि १०० किलोवाटसम्मको ३ हजार ५९४ वटा विद्युतीय गाडी आयात भएको छ । यी गाडीका लागि १० अर्ब १८ करोड ५३ लाख रुपैयाँ बाहिरिएको छ भने सरकारले ४ अर्ब ९९ करोड ८८ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ ।
फागुनसम्म नेपालमा १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको ३८ करोड ५० लाख रुपैयाँमा ७५ वटा र २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मको १४ करोड ४८ लाख रुपैयाँमा २० वटा विद्युतीय गाडी आयात भएका छन् । यी क्षमताका आयातित गाडीबाट सरकारले क्रमशः २६ करोड ७८ लाख रुपैयाँ र २० करोड ३९ लाख रुपैयाँ राजस्व पाएको छ ।
विभागका तथ्यांक अनुसार नेपालमा सबैभन्दा बढी विद्युतीय गाडी चीनबाट आयात हुने गरेको छ । यो ८ महिनामा चीनबाट नेपालमा ६ हजार बढी विद्युतीय गाडी आयात भएको छ ।
यसैगरी भारतबाट २ हजार ३८० वटा, दक्षिण कोरियाबाट ४२ वटा, इन्डोनेसियाबाट ३४ वटा, जर्मनीबाट ७ वटा र अमेरिकाबाट ३ वटा विद्युतीय सवारीसाधन आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।



