काठमाडौं । माथिल्लो मैलुङखोला जलविद्युतको ‘लक इन’ अवधि आगामी वैशाख २ गते सकिने भएको छ । जलविद्युतको ७५ हजार कित्ता सेयरको लकइन २०८१ वैशाख २ गतेदेखि सकिने भएको हो । कम्पनीले प्राथमिक निष्कासनको ५ प्रतिशत सेयर म्युचुअल फन्डका लागि छुट्ट्याएको थियो ।
सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये सामूहिक लगानीकोषको स्वामित्वमा रहेको उक्त सेयर कात्तिक ३ गतेदेखि लकइनमा रहेको थियो । पछिल्लो समय नेपाल धितोपत्र बोर्डले सामूहिक लगानीकोषको स्वामित्वमा रहेको आईपीओ सर्वसाधारणमा बाँडफाँट भएको मितिदेखि ६ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्था गरेको छ । उक्त सेयरको लइकन खुल्नुभन्दा एक महिनाअघि सार्वजनिक सूचनामार्फत जानकारी गराउनुपर्ने व्यवस्था समेत रहेको छ । सोही अनुसार कम्पनीले सूचना जारी गरेको हो ।
२०८१ साल वैशाख २ गतेपछि म्युचुअल फन्डको स्वामित्वमा रहेका उक्त सेयर कारोबार गर्न योग्य हुनेछन् । हाइड्रोको आईपीओ २०८० कार्तिक ३ गते साधारण सेयर बाँडफाँड सम्पन्न भएको थियो ।



