काठमाडौं । वाणिज्य बैैंकले चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । पछिल्लो समय निरन्तर ब्याजदर घटाउँदै आएका बैंकहरुले चैत महिनाका लागि पनि घटाएका हुन् ।
प्रकाशित सुचना अनुसार १७ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने एनआईसी एशियाले बढाएको छ। दुई वाणिज्य बैंकहरुले भने फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
बैंकहरुको ब्याजदर औषतमा ०.५०४२ प्रतिशतविन्दु घटेको छ। फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ७.७५ प्रतिशतविन्दु रहेको २० बैंकहरुको अधिकतम औषत ब्याजदर चैत महिनामा घटेर ७.२५ प्रतिशतविन्दुमा झरेको छ। १७ वाणिज्य बैंकहरुले ब्याजदर घटाएसँगै औषत ब्याजदर पनि घट्न पुगेको हो।
यता बैंकहरुको संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने बढेको छ। फागुनमा ५.७४ प्रतिशतविन्दु रहेको बैंकहरुको संस्थागत निक्षेपको अधिकतम औषत ब्याजदर, चैत महिनामा ०.२६ प्रतिशतविन्दु बढेर ६ प्रतिशतविन्दु पुगेको छ।
चैतमा ब्याजदर सबैभन्दा बढी घटाउने वाणिज्य बैंकहरुको सूचीको पहिलो स्थानमा कृषि विकास बैंक छ । यो बैंकले फागुनको ब्याजरदरमा चैतमा ०.७७६९ विन्दुले घटाएको छ । बैंकले फागुनमा निक्षेपको ब्याजदर ६.४४३ प्रतिशत रहेकोमा चैतमा घटाएर ५.६६ प्रतिशत पुर्याएको छ ।
यस्तै, यसै अवधिमा नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर फागुनको तुलनामा घटाएर ७ प्रतिशत कायम गरेका छन् । यता प्राइम कमर्सीयल बैंक र सानिमा बैंकले पनि निक्षेपको ब्याजदर घटाएर समान ७.२५ प्रतिशत कायम गरेका छन् ।यस अवधिमा फागुनकै यथावत ब्याजदर तोकेका प्रभु र ग्लोबल आइएमई बैंकको ब्याजदर क्रमशः ७.५ प्रतिशत र ७.६ प्रतिशत रहेको छ ।
यस्तै, एनआइसी एशिया बैंकले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी ब्याजदर तोकेको छ । फागुनमा ८ प्रतिशत रहेको बैंकको ब्याजदर चैतमा बढ्दै ८.५४८ पुगेको छ । चैतका लागि भन्दै कुमारी बैंक, लक्ष्मी सनराइज र सिद्धार्थ बैंकले साविकको ब्याजदरमा ०.५ विन्दुले ब्याजदर घटाएका छन् । बैंकहरूले घटाएको ब्याजदर चैत १ गतेदेखि लागू हुनेछ ।




