काठमाडौं । चालु आर्थिक बर्षको ७ महिनामा २१.६ प्रतिशतले रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको बर्तमा आर्थिक स्थिति अनुसार चाल आर्थिक बर्षको माघ महिनामा रेमिट्यान्स २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब पुगेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५ सय ४० रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३१४,७६७ र १६७,७०८ रहेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २०.० प्रतिशतले वृद्धि भई ९ खर्ब १० अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५.२ प्रतिशतले बढेको थियो ।
शोधानान्तर स्थिति २ खर्ब ९७ अर्ब बचतमा
शोधानान्तर स्थिति २ खर्ब ९७ अर्ब बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमाशोधनान्तर स्थिति १ खर्ब २८ अर्ब ५५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९७ करोड ५७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २४ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २९.० प्रतिशतले कमी आई ३ अर्ब ८० करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.५ अर्ब १८ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ३५ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोड रुपैयाँले धनात्मक रहेको थियो ।
समीक्षा अवधिमा चालु खाता १६१ अर्ब ६९ करोडलेबचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४० अर्ब १६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको छ ।



