काठमाडौं । बुधबार शेयर बजार बढेर बन्द भएको छ । सोमबार शेयर बजार ६ प्रतिशत बढेर नियमित कारोबार अवधिभन्दा अगाडि नै बन्द भएको थियो। तर, मंगलबार अन्योलता बढेसँगै शेयर बजार घट्न पुगेको थियो। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.३३ अंकले बढेर २ हजार १७ दशमलव ५ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३ सय ८ स्क्रिपको ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको ९१ लाख ३८ हजार कित्ता शेयर किनबेच भएको छ ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो । बुधबार १ सय ७५ कम्पनीको शेयर मुल्य बढेको छ । ६२ कम्पनीको शेयर मुल्य घटेको छ भने ११ कम्वनप्को शेयर मूल्य स्थिर छ ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, जीवन बीमा र म्युचुअल फण्ड उपसमूहको परिसूचक घटेको हो।
आज बजारमा सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ३३ करोड ३७ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको करिब २८ करोडको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको १३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
यस दिन दोल्टी पावर कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ। त्यस्तै, यस दिन स्वरोजगार लघुवित्त र जोशी हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने गोर्खाज फाइनान्स र सिवाईसी लघुवित्तको शेयरमूल्य ८ प्रतिशत बढेको छ।



