काठमाडौं । माछापुच्छ्रे बैंक मार्फत डिजिटल कारोबार गर्दा असफल भएमा अब चिन्ता नलिए हुने व्यवस्था भएको छ । सो बैंकले उक्त असफल कारोबारलाई मोबाइल बैंकिङ्ग एप र वेबसाइट मार्फत बैंकमा रिर्पोट गर्न मिल्ने सुविधा संचालनमा ल्याएसँगै त्यस्तो चिन्ता हट्ने भएको हो ।
बैंकले जारी गरेको प्रेस विज्ञप्ति अनुसार असफल भएको कारोबारलाई रिर्पोट गरी सो रिपोर्टको प्रोसेस कुन चरणमा पुगेको छ भन्ने कुराको अपडेट हेर्न सकिन्छ । साथै असफल कारोबारको समस्या समाधान पश्चात् रकम फिर्ता भएको जानकारी मेसेज र इमेलबाट ग्राहकलाई गराइन्छ ।
आधुनिक प्रविधि भित्र्याई सो को प्रवर्धन, संवर्द्धन तथा कार्यान्वयन गर्ने बैंकमध्येमा अग्रस्थानमा रहेको दाबी गर्ने माछापुच्छ्रे बैंकले दिनानुदिन डिजिटल कारोबार सङ्ख्या वृद्धि हुँदै आएको र ग्राहकको कारोबारलाई अझ प्रभावकारी, सफल तथा चुस्त बनाउने उद्देश्यले यस्तो सुविधा संचालनमा ल्याएको बताएको छ ।
विज्ञान र प्रविधिका अनेकन् आयामहरूलाई प्रयोगमा ल्याई आफुलाई स्मार्ट बैंकको रुपमा परिचित गराइरहेको माछापुच्छ्रे बैंकले असफल डिजिटल कारोबारहरू बैंकसम्म नआईकनै जहाँकहि बसेर बैंकमा जानकारी गराई असफल कारोबारको रकम खातामा फिर्ता लिनको लागि ग्राहक बैंकसम्म आउनुपर्ने, फोन गरिरहनुपर्ने झन्झटबाट मुक्त गराउन यस्तो सुविधा प्रदान गरेको हो । यस अन्तरगत ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एपको प्रयोग गरेर स्टेटमेन्ट बटनमा गई असफल कारोबारको बारेमा रिर्पोट गर्न सक्नेछन् । यसरी ग्राहकको रिर्पोट प्राप्त भएपछि बैंकले उक्त कारोबारको बारेमा आवश्यक प्रक्रिया अगाडी बढाउने र असफल भएको प्रमाणको आधारमा ग्राहकको खातामा सम्बन्धित रकम आफै फिर्ता गर्नेछ ।
स्मार्ट बैंकको रुपमा बैंकले आफ्ना ग्राहकहरूलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यम तथा उपकरणहरू प्रदान गर्दै आएको र विभिन्न डिजिटल बैंकिङ्ग सेवा सुविधाहरू प्राप्त गर्न बैंकको कार्यालयसम्म पुग्नै नपर्ने गरी सेवा समेत प्रदान गरिरहेको छ ।



