काठमाडौं । धितोपत्र लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत संस्थाहरूमध्ये ११२ वटामात्रै योग्य देखिएका छन् । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले मार्जिक कारोबारका लागि योग्य कम्पनीहरूको सूची सार्वजनिक गर्दैै हाल सूचीकृत कम्पनीहरूमध्ये ११२ वटा मात्रै योग्य रहेको जनाएको हो ।
नेप्सेका अनुसार १९ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ५ वटा फाइनान्स र १६ वटा हाइड्रोपावर समूहका कम्पनी रहेका छन् । यस्तै, जीवन बिमा समूहबाट ७ वटा, निर्जीवनबाट ९ वटा र ४० वटा लघुवित्त कम्पनीहरु पनि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ ।
यसैगरी १६ हाइड्रो कम्पनी, नागरिक लगानी कोष, हिमालन डिस्टिलरी, शिवम् सिमेन्ट्स, नेपाल पुनर्बिमा कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल दूरसञ्चार कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य रहेका छन् ।
सामान्य अर्थमा पुँजीबजारका लगानीकर्ताले आफूसँग भएको रकमभन्दा बढी रकमको सेयर खरिद गर्न पाउने व्यवस्था मार्जिन कारोबार हो । यसका लागि धितोपत्र दलालले सुविधा उपलब्ध गराउँछन् ।
नेप्सेले मार्जिन कारोबारको लागि मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पुरा गरेका कम्पनीहरुको सूची सोही कार्यविधिको दफा ९(१) मा रहेको व्यवस्था बमोजिम प्रकाशन गरेको हो।
सोही निर्देशनानुसार मार्जिन कारोबारका लागि तोकिएका योग्य कम्पनीहरूको सेयर कारोबार गर्ने लगानीकर्ताहरूले मात्रै यस्तो सुविधा पाउँछन् ।







