काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ ।
मोड्युल सार्वजनिक भएसँगै बैंकमा खाता खोल्न ग्राहक स्वयं उपस्थित हुनुपर्ने छैन । अनलाइन माध्ययमबाट खाता खोल्न सक्ने व्यवस्था यसअघि नै गरिएको भए तापनि ग्राहकले आफ्नो विवरण अद्यावधिक गर्न बैंकमा स्वयं उपस्थित नै हुनुपर्ने व्यवस्था थियो ।
ग्राहकले अनलाइन खाता खोल्ने क्रममा बैंक प्रतिनिधिसँग आफूलाई पायक पर्ने समय तय गरेर वा अनलाइन खाता खोल्ने क्रममा माग गरिएका कागजात र आवश्यक विवरण रेकर्ड गरी ग्राहक पहिचान विवरण अद्यावधिक गर्ने सक्ने छन् ।
यो सुविधा प्रयोग गर्न बैंकको डिजिटल प्लाटफर्म www.digiaccount.kamanasewabank.com मार्फत् खाता खोल्न र आफ्नो विवरण अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकले यो व्यवस्था ल्याएसँगै स्वदेश तथा विदेशमा रहेकाहरूले आफू अनुकूल विभिन्न प्रकारका खाता खोल्न सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले आफ्नो खाता खोलेर डिम्याट, मेरो शेयर लगायतका सुविधाहरु प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
बैंकले अनलाइन खाता खोल्ने प्रकृयाको विस्तृत विवरण समेत सार्वजनिक गरेको छ। उक्त भिडियो बैंकको वेबसाइट तथा अन्य सामाजिक संजालमा राखिएको बैंकले जनाएको छ ।
बैंकले देशका विभिन्न स्थानमा रहेका १३५ सञ्जाल तथा ७७ वटा एटीएमबाट आफ्ना सेवा प्रदान गर्दै आइरहेको छ ।



