images
images

धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीका लागि राष्ट्र बैंकको स्वीकृति नचाहिने


  • 434
    SHARES
  • २०८० माघ २६ गते शुक्रबार

    धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीका लागि राष्ट्र बैंकको स्वीकृति नचाहिने

    काठमाडौं । धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने भएको छ।नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले नेपाल राष्टबैंक विदेशी लगानी तथा  विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ मा संसोधन गर्दै विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायका लागि परिपत्र समेत जारी गरेको हो ।  

    संशोधित विनियमावलीअनुसार अब शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानीमा राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने भएको हो। जसअनुसार अब धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीका लागि राष्ट्र बैंकको स्वीकृति चाहिने छैन।

    यसैगरी कायम रहेको नेपाली उद्योगमा कायम रहेका कुल नेपाली शेयरधनीहरुको शेयरधारण अनुपात नघट्ने गरी हुने विदेशी लगानीका लागि पनि राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था संशोधित विनियमावलीमा गरिएको छ। औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिमको रुण उद्योगमा पनि विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति नचाहिने प्रावधान संशोधित विनियमावलीमार्फत गरिएको छ।

    राष्ट्र बैंकले तोकेको प्रक्रिया पुर्याई सम्बन्धित कम्पनी वा उद्योगको खातामा विदेशी लगानीबापतको रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण (पहिलो संशोधन) नियमावली, २०७९ बमोजिम तोकिएको अवधिभित्र विदेशी लगानी भित्र्याउन नसकेमा विदेशी लगानी स्वीकृत गर्ने निकायबाट अवधि थप गरिएको स्वीकृति समेत पेस गर्नुपर्ने व्यवस्था संशोधित विनियमावलीमा गरिएको छ।

    यसैगरी विनिमय दरका कारण स्वीकृत विदेशी लगानी रकमभन्दा बढी भित्रिएको रकम फिर्ता पठाउन अनिवार्य हुने छैन । यस्तो बढी भित्रिएको रकम समेतलाई खाम्ने गरी विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त भएपश्चात् लेखांकनसम्बन्धी अन्य व्यवस्थाहरुको पालना हुने गरी विदेशी लगानीको रुपमा लेखांकङ्कन गर्न सकिने प्रावधान संशोधित विनियमावलीमा गरिएको छ।

    संशोधित विनियमावलीअनुसार स्वीकृत विदेशी लगानीको रकमभन्दा बढी रकमसमेत विदेशी लगानीका रुपमा भित्रिन सक्नेछ । यस्तो बढी भित्रिएको रकमलाई खाम्ने गरी विदेशी लगानी स्वीकृत गर्ने निकायबाट विदेशी लगानीको समर्थन–स्वीकृति प्रदान भएमा वा यस्तो बढी भित्रिएको मितिपश्चात रकम र मिति समेत उल्लेख भएको विदेशी लगानीको स्वीकृति प्रदान भएमा लेखांकनसम्बन्धी अन्य व्यवस्थाहरु पालना हुने गरी विदेशी लगानीका रुपमा लेखांकन गर्न सकिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

     


    images
    images

    Logo