काठमाडौं । नेपाल राष्ट्र बैंकले २ लघुवित्तलाई मर्जरका लागि अन्तिम स्वीकृती दिएको छ । बुधबार राष्ट्र बैंकले सामुदायिक लघुवित्त र विपिडव्लु लघुवित्तलाई एक आपसमा मर्जरमा जानका लागि अन्तिम स्वीकृती दिएको हो ।
सो लघुवित्तको स्वाप रेसियो १ः०.८५३५ हुने भएको छ । मर्जरपछि बिपिडब्लु लघुवित्तको १ शेयर बराबर सामुदायिक लघुवित्त ०.८५३५ कित्ता शेयर कायम हुने गरी शेयर स्वाप रेसियो स्वीकृत गरेको थियो।
यी दुवै लघुवित्तको गत असोज ३० गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो। त्यसपछि दुवै लघुवित्तको संयुक्त मर्जर कमिटीले सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा आवश्यक कागजपत्र पेस गरेका थिए। राष्ट्र बैंकले यी दुवै लघुवित्तको मर्जरलाई सैद्धान्तिक स्वीकृति दिइसकेको थियो।
राष्ट्र बैंकले मर्जरपछि सामुदायिक लघुवित्त वित्तीय संस्थाको नामबाट वित्तीय कारोबार गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ। यो संस्थालाई बागमती प्रदेशका सबै जिल्ला र सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर र संखुवासभामा कार्यक्षेत्र रहने गरी कारोबार सञ्चालन गर्न पनि स्वीकृति दिएको छ।






