काठमाडौं । सञ्चालनमा रहेका २० मध्ये १६ बैंकको नाफा घटेको छ । बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार यस्तो अवस्था देखिएको हो । वाणिज्य बैंकहरुले यो अवधिमा २८ अर्ब ७४ करोड रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको सोही अवधिमा कमाएको नाफाको तुलनामा झण्डै १० प्रतिशतले कम हो । बैंकहरुले अघिल्लो आर्थिक वर्षमा ३१ अर्ब ७९ करोड रुपैयाँ नाफा गरेका थिए ।
सो अवधिमा नाफा वृद्धि गर्ने बैंकहरुमा प्राइम कमर्सियल, एभरेस्ट, हिमालयन र कृषि विकास बैंक रहेका छन् । बाँकी बैंकहरु नबिल, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट मेगा, स्ट्यान्डर्ड चार्टर्ड, एनएमबि, सानिमा, सिद्धार्थ, लक्ष्मी सनराइज, कुमारी, नेपाल एसबीआई, माछापुच्छ्रे, सिटिजन्स, प्रभु र नेपाल बैंकको नाफा घटेको छ ।
वाणिज्य बैंकहरुमध्ये सर्वाधिक नाफा गरेको नबिल बैंकको नाफा ६.२७ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो महिनामा ३ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको उक्त बैंकको नाफा घटेर यसपटक ३ अर्ब २० करोड रुपैयाँमा झरेको छ ।
ग्लोबल आईएमई बैंकको नाफा यस पटक २६.५९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ७८ करोड नाफा गरेको सो बैंकको नाफा यसपटक घटेर २ अर्ब ४ करोड रुपैयाँमा सिमित भएको छ ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकको नाफा २५.६८ प्रतिशतले घटेको छ । पुस मसान्तसम्ममा उक्त बैंकले २ अर्ब १ करोड रुपैयाँ नाफा गरेको छ । सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो ।
एनआईसी एशिया बैंकले पनि अघिल्लो पुससम्मको तुलनामा ४१.८३ प्रतिशत कम नाफा गरेको छ । गत वर्षको सो अवधिमा ३ अर्ब २७ करोड रुपैयाँ नाफा गरेको उक्त बैंकको नाफा यसपटक घटेर १ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको हो ।
आर्थिक वर्ष २०८०/८१ को पुससम्ममा आइपुग्दा नेपाल बैंकको नाफा सर्वाधिक ४९.५९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको उक्त अवधिमा १ अर्ब १७ करोड रुपैयाँ नाफा गरेको बैंकको नाफा यसपटक घटेर ५९ करोड रुपैयाँमा सीमित भएको हो ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनएमबी बैंक, सानिमा बैंक र सिद्धार्थ बैंकको नाफा क्रमशः १३.६२ प्रतिशत, १.५५ प्रतिशत, २७.६२ प्रतिशत, ११.४१ प्रतिशत र २.०९ प्रतिशतले घटेका छन् । इन्भेष्टमेन्ट बैंकको नाफा २ अर्ब ८ करोडबाट १ अर्ब ८० करोड, स्ट्यान्डर्ड चार्टर्डको १ अर्ब ७२ करोडबाट १ अर्ब ७२ करोड, एनएमबिको नाफा १ अर्ब ९० करोडबाट १ अर्ब ३७ करोड, सानिमा बैंकको १ अर्ब २८ करोडबाट १ अर्ब १३ करोड तथा सिद्धार्थ बैंकको १ अर्ब १६ करोडबाट १ अर्ब १३ करोडमा नाफा सीमित भएको छ ।
त्यस्तै, लक्ष्मी सनराइज, कुमारी, नेपाल एसबीआई, माछापुच्छ्रे, सिटिजन्स र प्रभु बैंकको नाफा क्रमशः १.६६ प्रतिशत, १४.३१ प्रतिशत, २८.५९ प्रतिशत, २२.०१ प्रतिशत र ६.९५ प्रतिशत र ३९.९६ प्रतिशतले घटेका छन् ।
लक्ष्मी सजराइजको नाफा १ अर्ब ७ करोडबाट १ अर्ब ५ करोडमा झरेको छ । त्यस्तै, कुमारी बैंकको १ अर्ब १ करोडबाट ८६ करोड ७२ लाख, एसबीआईको १ अर्ब १७ करोडबाट ८४ करोड ५ लाख, माछापुच्छ्रे बैंकको १ अर्बबाट ७८ करोड ६३ लाख, सिटिजन्स बैंकको ८४ करोडबाट ७८ करोड तथा प्रभु बैंकको १ अर्ब १९ करोडबाट नाफा ७२ करोडमा सीमित भएको छ ।
४ बैंकको नाफा बढ्यो
१६ वटा वाणिज्य बैंकहरुको नाफा घट्दा पनि प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र कृषि विकास बैंकको नाफा भने यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा आईपुग्दा बढेको छ ।
प्राइम कमर्सियल बैंकको नाफा ३२.१३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको उक्त बैंकको नाफा यसपटक बढेर २ अर्ब १८ करोड रुपैयाँ पुगेको हो ।
त्यस्तै, एभरेष्ट बैंकको नाफा यसपटक ७.८८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७९/८० को ६ महिनामा १ अर्ब ५८ करोड रुपैयाँ नाफा गरेको उक्त बैंकले यसपटक १ अर्ब ७१ करोड रुपैयाँ नाफा गरेको हो ।
हिमालयन बैंकको नाफा यसपटक सर्वाधिक ५७.५३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ९५ करोड रुपैयाँ नाफा गरेको उक्त बैंकको नाफा यसपटक बढेर १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नोक्सानमा रहेको कृषि विकास बैंकको नाफा यसपटक बढेको छ । गत आर्थिक वर्षको सो अवधिमा १२ करोड रुपैयाँ घाटामा रहेको उक्त बैंकले यसपटक १ अर्ब ३५ करोड नाफा गरेको छ ।
यसवर्ष सबैभन्दा कम नाफा कमाउने र सबैभन्दा धेरै नाफा घट्ने बैंक भने नेपाल बैंक बनेको छ । सो बैंकको नाफा ४९.५९ प्रतिशतले घटेर ५९ करोडमा झरेको हो । अघिल्लो वर्ष सो बैंकले यही अवधिमा १ अर्ब १९ करोड नाफा कमाएको थियो ।
अघिल्लो ६ महिनामा अर्ब भन्दा बढी नाफा पुर्याएका ५ बैंकहरु अहिले अर्बको स्टाटसबाट तल झरेका छन् । अघिल्लो वर्ष नाफा अर्ब पुर्याउन नसकेका हिमालयन तथा अघिल्लो वर्ष नोक्सानमा देखिएको कृषि विकास बैंक अहिले अर्ब बढी नाफाको अवस्थामा पुगेको छ । सिटिजन्स बैंक दुवै वर्ष अर्बभन्दा तलकै अवस्थामा छन् ।



