काठमाडौं । कृषि विकास बैंकले १ अर्ब ३५ करोड नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा १२ करोड ८९ लाख रुपैयाँ नोक्सानीमा रहेको कृषि विकास बैंकले यस आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको हाे ।
गत आर्थिक बर्षको दोस्रो त्रैमासमा घाटामा रहेको कृषि विकास बैंक यो पटक भने नाफामा गएको हो । त्यस्तै, बैंकको खुद व्याज आम्दानी ४ अर्ब ४५ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ७२ करोड रहेको थियो ।
सो अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७५ करोड २१ लाख रहेको छ ।बैंकले २ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
हाल कम्पनीको चुक्तापुँजी १८ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७३ पैसा रहेको छ ।



