काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरुले आन्दोलन गरेका छन् । बिहीबार उनीहरुले बुधवार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा माग गरेका हुन् ।
विरोध प्रदर्शनमा सहभागीहरुले ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।
बुधबार मन्त्री किरातीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियनलाई नमान्नेहरु संविधान विरोधी भएको र उनीहरुलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर हिन्दु धर्मसँग सम्बन्धित संघसंस्थाले बिरोध जनाएका छन् ।
उनीहरुले देशको बहालवाला रहेको मन्त्रीले कुनै समुदायको कार्यक्रममा गई अरु समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचालेर अपमानजनक अभिव्यक्ति दिनु गलत भएको बताएका छन्। उनीहरुले मन्त्रीको अभिव्यक्ति मन्त्रीको पदमा बस्नका लागि योग्य नरहेकाले तत्काल बर्खास्त गर्नुपर्ने माग गरे ।



