काठमाडौं । रुसी सेनामा कार्यरत थप एक जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप एक जना नेपालीको मृत्यु भएको जानकारी दिएको हो।
परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जनाएको छ । मन्त्रालयले हालसम्म रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ ।
मन्त्रालयले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसस्थित नेपाली दूतावासलाई आग्रह गरेको छ । त्यसैगरी, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन राजदूत मार्फत रुसी सरकारलाई पुनःअनुरोध गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
रुस युक्रेन युद्धमा संलग्न ४ जना नेपाली बन्दी अवस्थामा रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । बर्दियाको राजापुर गाउँपालिका–१ का विवेक खत्री, काभ्रेको मण्डन देउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका–२ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका–८ का प्रतिक पुन बेपत्ता छन् ।
सरकारले सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न बाहेक अरु नेपालीले रुस यात्रा गर्नुपरेमा नो अब्जेक्सन लेटर लिएर मात्र जान आग्रह गरेको छ ।
नेपालबाट मात्र नभई भारत, बंगलादेश, श्रीलंका, संयुक्त अरव इमिरेट्स, साउदी अरविया, कुवेत, कतार र बहराइनबाट रुस यात्रा गर्दा पनि ती देशमा रहेका नेपाली राजदूताबास तथा महावाणिज्यदूताबासबाट नो अब्जेक्सन लेटर लिएर मात्र यात्रा गर्न परराष्ट मन्त्रालयले आग्रह गरेको छ ।



