काठमाडौं । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित एयरपोर्ट अध्यागमन कार्यालयको अनुगमन एवं निरीक्षण गरेको छ । बुधबार विभागको टिमले विमानस्थलमा यात्रुहरुलाई सहजता प्रदान गर्नका लागि सम्बन्धित निकायहरुले गरेको कामको अनुगमन एवं निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ अध्यागमन अधिकृत गोकर्णप्रसाद उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रस्थान कक्षमा सेवाग्राहीको सुविधाका लागि १४ वटा डेक्सहरु राखेर सेवा दिँदै आएको जानकारी दिए ।
उनले विदेशी नागरिकका लागि ४ वटा काउण्टर र १० वटा काउण्टर नेपाली नागरिकका लागि राखेर सेवा प्रदान गर्दै आएको बताए । अहिले करिब एक दिनमा ९ देखि १० हजार यात्रुहरु नेपालबाट अन्य मुलुकतर्फ प्रस्थान गरेको उनको भनाइ छ ।
उनले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयको प्रस्थान कक्षमा छौं । यहाँ सेवाग्राहीको सुविधाका लागि १४ वटा डेक्सहरु रहेका छन्। यसमा नियमित रुपमा रुपमा सेवा प्रवाह हुन्छ। तीन वटा सिफ्टमा काम हुन्छ । यहाँ विदेशी नागरिकका लागि ४ वटा काउण्टरहरु छन् । त्यस्तै १० वटा काउण्टर नेपाली नागरिकका लागि छन्। सोहीअनुरुप सेवा लिनुहुन्छ । अहिले करिब एक दिनमा ९ देखि १० हजार यात्रुहरु नेपालबाट अन्य मुलुकतर्फ प्रस्थान गरेको देखिन्छ ।’
उनले अहिले एउटा कर्मचारीले तीनदेखि ४ सयको हाराहारीमा यात्रुहरुलाई पठाउने काम गरेको बताए ।



