काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले द्रुत मार्गको काम द्रुत गतिमा अगाडि बढिरहेको बताएका छन् । बुधवार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा उनले उक्त जानकारी गराएका हुन् ।
त्यस्तै उनले कोभिड १९, खोकनामा जग्गा खरिद प्रक्रिया हुन नसकेको लगायतका कारणले आयोजना निर्माणमा ढिलाइ भएको भए पनि अहिले कामले गति लिएको जानकारी दिए । ८९ वटा पुलमध्ये ७२ वटा पुलको ठेक्का भैसकेको र बाँकी ठेक्का प्रक्रियामा रहेको उनको भनाइ छ ।
वातावरणीय मूल्याङ्कन प्रतिवेदन स्वीकृतका लागि बन मन्त्रालयमा दुई वटा प्रतिवेदन पेस भएको उनको भनाइ छ । कोभिडले आयोजनाको काम ४ महिना ढिलो भएको, विस्तृत आयोजना स्वीकृत साढे दुई महिना प्रभावित भएको र रुख कटान र जग्गाको भोगाधिकार गत जेठ देखि रोकिएको उनले जानकारी दिए ।
छलफलको सदस्यहरूको प्रश्नको जवाफ दिँदै शर्माले हाल भारतबाट विस्फोटक पदार्थ आपूर्ति हुन नसके पनि चीनबाट आपूर्ति भइरहेको जानकारी दिए ।



