काठमाडौं । एक सातादेखि ‘नो अब्जेक्सन लेटर’ दिने सेवा अवरुद्ध भएको छ । सफ्टवेयर अपडेट गर्ने क्रममा सर्भर डाउन भएको र डाटा रिकभर हुन नसकेको कारण उक्त सेवा अवरुद्ध भएको हो ।
शिक्षा मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखामा प्राविधिक गडबढी भएपछि विद्यार्थीले आवेदन दिने प्रक्रिया, भेरिफाइ र एनओसी प्रमाणपत्र वितरण कार्य रोकिएको हो ।
सफ्टवेयर अपडेट गर्ने क्रममा सर्भर डाउन हुँदा समस्या आएको शिक्षा मन्त्रालयले जनाएको छ । सर्भर डाउन हुँदा मंसिर २३ देखि २९ गतेसम्मको डेटा रिकभर हुन नसकेपछि ती दिनमा अनलाइन मार्फत आवेदन दिएका केही विद्यार्थीको तथ्यांक हराएका कारण नियमित एनओसी वितरण रोकिएको हो ।
रिकभरका कतिपय डेटामा पनि त्रुटि देखिएपछि विद्यार्थीलाई पुनः आवेदन दिन समेत आग्रह गरिएको छ । विद्यार्थीले भने एकसातासम्म एनओसी नपाउँदा अध्ययनका लागि विदेश जाने योजना बिथोलिएको गुनासो गरेका छन् ।
अघिल्लो हप्ताको आवेदन हराएपछि आइतबारदेखि मंगलबारसम्म ३ हजार भन्दा बढी विद्यार्थीले पुनः आवेदन दिएका छन् । सानोठिमीस्थित कार्यालयमा विद्यार्थीको भिडभाड बढेको छ भने एनओसी प्राप्तिमा ढिलाइ हुँदा विद्यार्थीले नारा जुलुस समेत गरेका छन् । कोभिड यता वार्षिक एक लाख भन्दा बढी विद्यार्थीले वैदेशिक अध्ययनका लागि अनुमति लिने गरेका छन् ।
कार्यालयले प्रमाण पत्र भेरिफाइको लागि राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गरेपनि विश्वविद्यालयहरूसँग भने भएको छैन ।



