काठमाडौं । कात्तिकको तुलनामा मंसिरमा घरजग्गाको कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार कात्तिकको तुलनामा मंसिरमा ६०.६८ प्रतिशतले घरजग्गा कारोबार बढेको हो ।
कात्तिकमा देशभर २६ हजार ४६ कित्ता जग्गा लिखत पारित भएको थियो जुन मंसिरमा बढेर ४१ हजार ८५१ को संख्यामा पुगेको छ । गत वर्षको मंसिरको तुलनामा जग्गाको कारोबार ४३.४० प्रतिशतले बढेको तथ्यांकमा देखिन्छ । गत वर्ष सो महिनामा २९ हजार १८४ वटा कारोबार भएका थिए ।
जग्गाको कारोबार बढेसँगै कारोबारबापत राज्यलाई प्राप्त हुने राजस्व पनि ३२.४० प्रतिशतले बढेको छ । कात्तिक महिनामा उक्त क्षेत्रबाट २ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । जुन मंसिरमा बढेर २ अर्ब ८६ करोड रुपैयाँ पुगेको हो ।
गत वर्षको मंसिर भन्दा जग्गा कारोबारबापतको राजस्व ८.३३ प्रतिशतले बढेको छ । सो महिनामा २ अर्ब ६४ करोड रुपैयाँ राजस्व उठेको थियो ।
चालु आर्थिक वर्षको मंसिर महिनामा सर्वाधिक लिखत पारित भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषाबाट भएको छ । उक्त कार्यालयबाट १५७९ कारोबार भएका छन् । सुनसरी र झापा कार्यालयबाट क्रमशः १५७५ र १५३५ कारोबार भएका छन् ।
त्यस्तै, मालपोत कार्यालय बेलवारी, भूमिसुधार तथा मालपोत कार्यालय राजविराज र भूमिसुधार तथा मालपोत कार्यालय धनगढीबाट पनि हजार भन्दा धेरै कारोबार मंसिर महिनामा भएका छन् ।



