images
images

पाँच महिनामा ३ खर्ब ८३ अर्ब आम्दानी, ४ खर्ब ५२ अर्ब खर्च


  • 341
    SHARES
  • २०८० पौष १ गते आइतबार

    पाँच महिनामा ३ खर्ब ८३ अर्ब आम्दानी, ४ खर्ब ५२ अर्ब खर्च

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ ।

    महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मङ्सिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ । यो अवधिसम्ममा वार्षिक लक्ष्यको २६.०७ प्रतिशत आम्दानी भएको छ भने २५.८७ प्रतिशत खर्च भएको छ ।
         
    चालु आर्थिक बर्षका लागि सरकारले कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । मङ्सिर मसान्तसम्म आइपुग्दा सरकारको बजेट खर्च ४ खर्ब ५२ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको २५.८७ प्रतिशत रहेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पहिलो पाँच महिना अवधिमा चालु खर्च ३१ दशमलव ५३, पुँजीगत खर्च ११ दशमलव ९४ र वित्तीय व्यवस्थातर्फको खर्च १८ दशमलव ५२ प्रतिशत छ ।
         
    चालु आर्थिक वर्षका लागि चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बराबरको बजेट ल्याइएकामा मङ्सिर मसान्तसम्ममा ३ खर्ब ५९ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ बराबर खर्च भएको छ । पुँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ बराबरको वार्षिक बजेट रहेकामा हालसम्म ३६ अर्ब ६ करोड ३ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको छ । त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७ अर्ब ४५ लाख ३६ हजार रुपैयाँ बराबर वार्षिक विनियोजन रहेकामा हालसम्म ५६ अर्ब ९३ करोड ९७ लाख रुपैयाँ बराबर खर्च भएको छ ।
         
    चालु आर्थिक बर्षको पहिलो पाँच महिना अवधिमा सरकारको राजस्व सङ्कलन पनि लक्ष्यअनुसार हुन सकेको देखिँदैन । चालु  आर्थिक बर्षका लागि कूल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ बराबर राजस्व उठाउने सरकारी लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको २६ दशमलव ०७ प्रतिशत अर्थात् ३ खर्ब ८३ अर्ब ९२ करोड ४२ लाख रुपैयाँ बराबर मात्रै राजस्व सङ्कलन भएको छ । यो अवधिसम्मको सरकारको आयव्ययको विश्लेषण गर्दा आम्दानीको तुलनामा ६९ अर्ब ७ करोड १५ लाख रुपैयाँ बढी खर्च भएको छ । अर्थात् पाँच महिना अवधिमा ६९ अर्ब रुपैयाँभन्दा बढीको बजेट घाटा सरकारले व्यहोरेको छ ।
         
    सरकारले चालु  आर्थिक बर्षमा कर राजस्वतर्फ १३ खर्ब ५ अर्ब ४७ करोड ९६ लाख रुपैयाँ र गैरकर राजस्वतर्फ १ खर्ब १७ अर्ब ६ करोड २१ लाख रुपैयाँ बराबर सङ्कलन गर्ने उद्देश्य राखेको छ । त्यस्तै ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ बराबर वैदेशिक अनुदान उठाउने सरकारी लक्ष्य छ । चालु आर्थिक वर्षको सुरुआती पाँच महिना अवधिमा कर राजस्व सङ्कलन वार्षिक लक्ष्यको २५ दशमलव ८३ प्रतिशत अर्थात् ३ खर्ब ३७ अर्ब १८ करोड ६७ लाख रुपैयाँ छ भने गैर कर राजस्व सङ्कलन वार्षिक लक्ष्यको २२ दशमलव ४२ प्रतिशत अर्थात् २६ अर्ब २४ करोड २५ लाख रुपैयाँ बराबर छ । चालु आवको मङ्सिर मसान्तसम्ममा सरकारले २ अर्ब ७५ करोड ८० लाख  रुपैयाँ बराबर वैदेशिक अनुदान लिएको छ ।


    images
    images

    Logo