images
images

५१ जनालाई ठगेर दुबईमै कम्पनी खोलेका उपाध्याय इन्टरपोलमार्फत् पक्राउ, ल्याइयो नेपाल


  • 469
    SHARES
  • २०८० पौष १ गते आइतबार

    ५१ जनालाई ठगेर दुबईमै कम्पनी खोलेका उपाध्याय इन्टरपोलमार्फत् पक्राउ, ल्याइयो नेपाल

    काठमाडौं । ५१ जनालाई ठगेर सम्पर्कविहीन भएका एक व्यक्तिलाई दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको छ । ५१ जनाबाट ठूलो रकम ठगेर दुबईमै बस्दै आएका कोमलराज उपाध्यायलाई पक्राउ गरी नेपाल ल्याइएको हो ।

    ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका सर्लाहीको साविक जानकीनगर गाविस–७ का उपाध्यायलाई शुक्रबार नेपाल ल्याइएको हो । नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) अबुधावीको समन्वयमा दुबईको यूएईमा पक्राउ परेका उनलाई ठगी मुद्दामा कारबाहीका लागि नेपाल ल्याइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी कुवेर कडायतले जानकारी दिए ।

    उपाध्यायसमेत सञ्चालक रहेको ‘त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सिज, खलिदा बिन अल विल्ड रोड, अलराफा’ले यूएईस्थित दुबईमा आम्र्स गार्ड, डीपीएस सेक्युरिटीमा आकर्षक तलब र सुविधासहितको रोजगारी दिने प्रलोभन देखाई रकम लिएर ठगी गरेको थियो ।

    नेपाली युवाहरुलाई भिजिट भिसामार्फत् दुबई बोलाएको, रोजगारीको लागि भन्दै आफूहरूबाट रकम लिएको तर भने बमोजिम रोजगारीमा नलगाई ठगी गरेको भन्दै ५१ जना पीडितहरूले उनीविरूद्ध जाहेरी दरखास्त दिएका थिए ।

    ठूलो संख्यामा ठगिएको भन्दै पीडितहरुले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा ठगी सम्बन्धी कसुरमा उजुरी दिएका थिए। अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ वैशाख २७ गते रेड नोटिस जारी भएको थियो ।


    images
    images

    Logo