काठमाडौं । नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।
परराष्ट्र मन्त्रालयमा आज पद बहाली गरेपछि उनले सरकारले सुम्पेको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने दृढता व्यक्त गरेकी हुन्। ‘मन्त्रालयका सबै सहकर्मीको साथ र सहयोगमा सरकारले सुम्पेको जिम्मेवारी पूरा गर्न कर्तव्यनिष्ठ भएर लाग्नेछु’, उनले भनिन्।
देशको परराष्ट्र नीतिअनुरुप द्विपक्षीय एवम् बहुपक्षीय सम्बन्धलाई प्राथमिकता दिँदै छिमेकी राष्ट्रहरुसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राख्नेसमेत उनले बताइन्। यस्तै, उनले इजरायलबाट समूह हमासले नियन्त्रणमा लिएको भनिएका विपीन जोशीको सकुशल रिहाइका निम्ति कूटनीतिक प्रयासलाई दोब्बर बनाउने बताएकी छिन्।
नेपालसँग श्रम सम्झौता नभएका देशमा गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा नजान सम्बद्ध सबैलाई आग्रह गर्दै उनले सरकारले रोजगारीमा विदेश जान चाहनेलाई ‘रोजगार अनुमतिपत्र’ प्रदान गर्ने बताइन्। ज्यानलाई जोखिममा पारेर अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा नजान उनले आग्रह गरेकी छिन्।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले मन्त्रालयका वरिष्ठ सहसचिव लम्साललाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको थियो। पाकिस्तानका निम्ति नेपाली राजदूत भएर काम गरिसेकी उनसँग न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा उपप्रमुखका रुपमा सेवा काम गरिसकेको अनुभव छ।



