काठमाडौं । स्थानीय बजारमा यस साता सुनको मूल्य प्रतिदस ग्राम १ हजार ३ सय ७० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन आइतबार प्रति दस ग्राम १ लाख ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार १ लाख २ हजार १ सय १० रुपैयाँमा उक्त सुन कारोबार भएको छ ।
नेपाली बजारमा पनि यो साता सुनको मूल्य बढ्यो । स्थिर रहेको सुनको मूल्य साताको दोस्रो दिन सोमबार बढेर त्यसपछि दुई दिन केही घटे पनि बिहीबारदेखि पुनः बढेको थियो ।
महासङ्घका अनुसार यो साता पनि विश्व बजारमा सुनको मूल्य बढेको छ । अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने सङ्केत गरेसँगै बढेको सुनको मूल्यमा विभिन्न मुलुकमा जारी द्वन्द्वले थप असर पारेको बिश्लेषकहरूले बताएका छन् । उनीहरूले नयाँ वर्षमा सुनको मूल्यले रेकर्ड कायम गर्न सक्ने आँकलनसमेत गरेको महासङ्घले उल्लेख गरेको छ ।
यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार १ हजार २ सय २२ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम दिन शुक्रबार प्रति १० ग्राम १ हजार २ सय ६० रुपैयाँ कायम भएको महासङ्घका कार्यवाहक महासचिव किरणभाइ बज्राचार्यले जानकारी दिए ।



