काठमाडौं । रूपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने भएको छ । रूपन्देहीमा पत्रकार सम्मेलनमार्फत रूपन्देहीको तिलोत्तमा नगरपालिकास्थित दरखसवामा निर्माणाधीन क्रिकेट रंगशाला फागुन १ गतेबाट सञ्चालनमा आउने जानकारी दिइएको हो ।
रंगशालालाई अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आईटी कम्पनीले निर्माण गरिरहेको छ ।
पत्रकार सम्मेलनमा एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवरले निर्माणाधीन क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको बताए । उनले मैदानमा सातवटा पिच रहेको र फागुन १ गतेबाट प्रतियोगिताका लागि योग्य हुने जानकारी दिए ।
उनका अनुसार रंगशाला निर्माणको समयसीमा सकिन चार महिना बाँकी रहँदै निर्माण सम्पन्न हुने भएको हो ।
रंगशलामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुमहरू निर्माणको काम माघबाट सुरु गर्ने पनि निर्देशक कुँवरले बताए । सबै रुमहरूको काम वैशाखसम्म सकिने उनको भनाइ छ ।
रंगशालामा तत्कालका लागि पाँच हजार सिट क्षमताको बनाइने छ । क्रिकेट रंगशालाको ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । अहिलेसम्म पाँच करोड रुपैयाँ खर्च भएको निर्माण कम्पनीले जनाएको छ ।



