काठमाडौं । पृथ्वीमा आज राति तारा अर्थात् उल्का वर्षाको दृष्य देख्न सकिने भएको छ । खगोलविद्हरुका अनुसार नेपालबाट विहीबार राति आकाश खुलेको बेलामा उल्का वर्षा अवलोकन गर्न सकिने भएकाे हाे ।
नेपालमा स्थानीय समयानुसार बिहीवार मध्यरातपछि उल्का वर्षा अवलोकन गर्न सकिन्छ । अत्यधिक सक्रिय भएको समयमा प्रतिघण्टा १५० वटा सम्म उल्का वर्षा भएको देख्न सकिन्छ। आज राति ८ बजेदेखि भोलि बिहान साढे ५ बजेसम्म सर्वसाधरणहरूले आकाशमा उल्का वर्षा भएको देख्न सकिने जनाइएकाे छ ।
यो उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम दिएका छन् । आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्का वर्षालाई वैज्ञानिकहरुले ‘जेमिनिड्स’ नाम दिएका हुन् । यो उल्का वर्षालाई खाली आँखाले नै हेर्न सकिन्छ । मंसिर १८ गतेदेखि सुरु भएको मिथुन उल्कावर्षा पुस १ गतेसम्म सक्रिय रहने छ ।



