काठमाडौं । काठमाडौंका रेष्टुरेन्टहरुले चुरोट बेच्न पाउने भएका छन् । महानगरपालिका क्षेत्रभित्र रहेका त्यस्ता रेष्टुरेन्टहरुले छुट्टै स्मोकिङ कक्ष बनाएर चुरोट बेच्न पाउने भएका हुन् ।
महानगरले भोलिबाट राजधानीलाई सुर्ति रहित क्षेत्र घोषणा गर्न अघि सो निर्णय गरेको थियो । कामपा जनस्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले राजधानीमा सञ्चालित सबै रेष्टुरेन्ट व्यावसायीले आफ्नो रेष्टुरेन्टमा अनिवार्य रुपमा स्मोकिङ क्षेत्र राख्नुपर्ने जानकारी दिए ।
उनका अनुसार अब राजधानीमा चुसेर र रस लिएर प्रयोग गरिने सुर्तिजन्य पदार्थ पुर्ण रुपमा प्रतिबन्ध लगाइनेछ । त्यसको लागि भोलि बिहानैबाट महानगरको चार क्षेत्रमा महानगरको प्रहरी परिचालन हुनेछन् ।
कामपाका प्रहरी उपरीक्षक दिनेश अर्यालले राजधानीको पुर्वी, मध्य, पश्चिम र उत्तर क्षेत्रमा आवश्यकता अनुसार प्रहरी परिचालन हुने जानकारी दिए । त्यसबाहेक नगर प्रहरी मुख्यालयमा केन्द्रीय कार्यदल रहनेछ ।
कार्यदलले आवश्यकताको आधारमा थप प्रहरी बल परिचालन हुनेछन् । कामपाले १५ दिनअघि सार्वजनिक सूचना जारी गरी सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका चुरोट, विँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सूर्तीजन्य पदार्थको भण्डारण, विक्री र प्रयोगमा रोक लगाउने उल्लेख गर्दै कसैले विक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्ने उल्लेख थियो ।



