काठमाडौं । काठमाडौंमा अटो रिक्सा, इरिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाइने भएको छ । काठमाडौं महानगरको २९ औँ महानगर दिवस २०८० का अवसरमा आज आयोजित महानगरपालिका र ट्राफिक प्रहरीबिच समन्वय तथा सहकार्यसम्बन्धी अन्तरक्रियामा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले काठमाडौंमा अटो रिक्सा, ई रिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने बताएका हुन् ।
काठमाडौं महानगरपालिकाले २ सय ६४ ठाउँमा बस विसौनी निर्माण गर्ने योजना बनाएको छ । यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको छ ।
यससँगै दैनिक उपभोग्य बस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसहरुको समय निर्धारण गर्ने, पार्किङ्ग व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणाली सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुनेछन् ।



