भक्तपुर । चाँगुनारायणमा राष्ट्रपति रनिङ शिल्ड शुरु भएको छ । नगरपालिकाले दोस्रो नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को आयोजना गरेको हो । मंगलवारदेखी शुरु भएको प्रतियोगिता बिहीबारसम्म चल्ने छ । प्रतियोगिता अन्तरगतका विभिन्न खेल नगरका पाँच स्थानमा सञ्चालन भइरहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख जीवन खत्रीले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताए । सहभागी विद्यार्थीलाई पठनपाठनसँगै खेलकुदमा पनि लाग्न आग्रह गर्दै नगर प्रमुख खत्रीले रनिङ सिल्ड खेलाडी पहिचानमा कोसेढुंगा सावित हुने बताए ।

बिकास निर्माणसंगै नगरपालिकाले शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्राथमिकता दिएको बताउँदै नगर प्रमुख खत्रीले यस्ता प्रतियोगिताको आयोजनाले विश्वस्तरमा प्रतिष्पर्धा गर्न सक्ने सक्षम र सवल विद्यार्थी उत्पादन गर्ने बताए ।
उद्घाटन समारोहमा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाले भविष्यमा बैकुण्ठ मानन्धर र जितबहादुर केसी जस्ता खेलाडी उत्पादन विद्यालयस्तरीय खेल प्रतियोगिताबाटै जन्मिने बताए ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले जिल्लाका चारवटै पालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुनु सुखद रहेको बताउँदैं खेल क्षेत्रको विकासका लागि भौतिक पुर्वाधारको पनि बिस्तार हुनुपर्नेमा जोड दिए ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुरामणी पन्थीले खेलसँगै अनुशासनपनि जोडिएर आउने बताउँदैं विद्यार्थीलाई अनुशासन सिकाउन यस्ता प्रतियोगिता फलदायी हुने बताए ।
नगर शिक्षा शाखा प्रमुख विरबहादुर खड्काले शिक्षासँगै विद्यार्थीको समग्र विकासका लागि खेलकुद पनि अपरिहार्य भएकोले नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डलाई प्राथमिकतामा राखेको बताए ।
नगरस्तरिय खेलकुद विकास समितिका संयोजक रघु केसीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा श्रीकृष्ण मावि र महेन्द्र ग्राम माविका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । नगर प्रवक्ता एवम् वडा नं ८ का वडाअध्यक्ष जनक खत्रीका अनुसार,
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले पालिकाको प्रतिनिधित्व गर्दै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी जनाउने छन् ।

प्रतियोगितामा छात्र र छात्राको भलिबल, कबड्डी, मार्सल आर्टतर्फ कराँते, तेक्वान्दो, उसु, एथलेटिक्सतर्फ हाइजम्प, लङजम्प, ८०० मिटर, सटफुट, १०० मिटर रिले, त्रिपलजम्प खेल समावेस छन् । त्यसैगरी ज्याभ्लिङ थ्रो, ३००० मिटर, १५०० मिटर, ४०० मिटर, २०० मिटर, १०० मिटर ४०० मिटर रिले समावेश गरिएको शिक्षा शाखा प्रमुख खड्काले बताए।
प्रतियोगितामा नगरपालिकाभित्रका ४० सामूदायिक र संस्थागत विद्यालयका करिव एक हजार छात्रछात्राको सहभागिता रहेको बताइएको छ ।



