काठमाडौं । हिमालयन रि इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आईपीओ ल्याउन बाटो खुला भएको छ । हिमालयन रिइन्सुरेन्स कम्पनीले प्रिमियममा आइपीओ जारी गर्न लागेको विषयविरुद्ध परेको रिट निवेदनमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
मंगलबार न्यायाधीशद्वय जनक पाण्डे र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले यस मुद्दामा अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो । यो सँगै कम्पनीलाई प्रिमियम मूल्यमा आइपीओ ल्याउन बाटो खुला भएको छ ।
गत असोज २२ गते हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा ल्याउन लागेको आइपीओ रोक्न माग गर्दै रिट परेको थियो। उक्त रिटमा आज अदालतमा सुनुवाइ भएको थियो। सुनुवाइपछि अदालतले रिटमा माग गरेअनुसार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
कम्पनीले भोलि (मंसिर २७ गते) बाट सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गर्दैछ । यसअघि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री जारी गरिसकेको छ ।



