images
images

१० वर्षदेखि घटिरहेको अलैंचीको भाउ बढ्यो


  • 440
    SHARES
  • २०८० मंसिर २६ गते मंगलबार

    १० वर्षदेखि घटिरहेको अलैंचीको भाउ बढ्यो

    सङ्खुवासभा । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) ७० हजार रुपैयाँ पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजार रुपैयाँसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजार रुपैयाँसम्म झरेको थियो । 

    पछिल्लो समय नेपालबाट भारत, पाकिस्तानलगायत देशमा अलैँची निर्यात हुन थालेपछि यसको मूल्य बढेको हो । जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष सुरुवातदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष कुमार श्रेष्ठले बताए । उत्पादन कम, माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको उनको भनाइ छ । यहाँ उत्पादित ९८ प्रतिशत अलैँची नेपालबाहिर निर्यात हुने गरेको तथ्याङ्क छ ।  

    अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट किसानले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन् । सङ्खुवासभामा दुई हजार आठ सय ७१ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ । जिल्लामा गत वर्ष नौ सय ४० मेट्रिक टन अलैँची उत्पादन भएको थियो । यस वर्ष भने अलैँचीको उत्पादन घट्ने महासङ्घको अनुमान छ । अलैँची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ । व्यवसायीका अनुसार अलैँचीलाई गुणस्तरका आधारमा क, ख र ग गरी तीन तहमा विभाजन गरिएको छ । 

    नेपालमा उत्पादित अलैँचीको मुख्य बजार भारत हो । अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो । जिल्लामा करिब ४० वर्षभन्दा पुराना बोट भएकाले पनि उत्पानमा ह्रास आएको कृषि ज्ञान केन्द्र सङ्खुवासभाले जनाएको छ । अधिकांश अलैँची बगानमा पुराना बोट भएकाले उत्पान घट्नुका साथै बोटसमेत डढ्ने गरेका छन् । 


    images
    images

    Logo