काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई स्वीकृत दरबन्दीबाहेकका कर्मचारीहरुको विवरण एक हप्ताभित्र मन्त्रालयमा बुझाउन परिपत्र गरेको छ । सोमबार मन्त्रालयले एक सुचना जारी गर्दै दरबन्दीबाहेक समायोजन मिलान, समायोजन संशोधन र फाजिलमा रहेका स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतका स्वास्थ्यकर्मीको विवरण माग गरेको हो ।
मन्त्रालयले स्वीकृत दरबन्दी बाहेकका स्वास्थ्यकर्मीका लागि पनि तलव भत्ता माग भइरहेको भन्दै त्यसै प्रयोजनका लागि विवरण माग गरेको बताएको छ । गत साउनदेखि कतिपय पालिकाहरुमा कार्यरत दरबन्दी बाहिरका स्वास्थ्यकर्मीहरुले तलव पाउन सकेका छैनन् ।
दरबन्दीअनुसार समायोजन भएका कर्मचारीको तलब यसअघि नै गएको र बाँकीको हकमा तलब भत्ता माग गर्ने प्रयोजनको लागि सो विवरण माग गरिएको परिपत्रमा उल्लेख छ । स्वीकृत स्थायी दरबन्दी बाहेकका कर्मचारीको विवरण ७ दिन भित्र उपलब्ध गराउन सूचनामा उल्लेख छ ।
‘तहाँ महानगरपालिका, नगरपालिका र गाउँपालिकामा हाल कार्य गरिरहेका स्वीकृत दरबन्दीबाहेकका कर्मचारीहरुको लागि यस आर्थिक बर्षको साउनदेखि आगामी असार मसान्तसम्मको लागि थप तलब माग भई आएको हुँदा उल्लिखित स्वीकृत स्थायी दरबन्दीबाहेकका कर्मचारीको तपसिलको ढाँचामा ७ दिनभित्र विवरण उपलब्ध गराइदिनु हुन यस मन्त्रालयको २०८०।०८।२५ को निर्णय अनुसार अनुरोध छ,’ परिपत्रमा भनिएको छ ।
तोकिएको समयमा विवरण उपलब्ध नभएमा यस वर्षको तलव भत्ता निकासा गर्न नसकिने मन्त्रालयको पत्रमा उल्लेख छ ।



